काठमाडौँ । रोल्पा जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएका छन्।
बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको छ।
बस चालक रोल्पाको थवाङ गाउँपालिका–३ मिरुल निवासी अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन्। दुर्घटनापछि सडक अवरुद्ध रहेको तथा बस घटनास्थलमै रहेको छ प्रहरीले जनाएको छ ।






