काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई १३ वर्षदेखि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ बस्ने चारित्रिक विल्डर्स प्रा.लि.की सञ्चालक सविता कार्कीलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.का अनुसार कार्कीलाई मंगलवार काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरिएको हो।
नेपाल राष्ट्र बैंकको जाहेरीका अनुसार कार्कीले आफ्नो सञ्चालनमा रहेको चारित्रिक विल्डर्स प्रा.लि. को नाममा नक्कली कागजातहरू तयार पारेकी थिइन्। उनले हाउजिङ तथा निर्माण कार्य गर्ने भन्दै कृत्रिम व्यवसाय–परियोजना खडा गरेको प्रहरीले जनाएको छ ।
सोही कृत्रिम योजना देखाएर तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी उनले कर्जा निकासा गराउन सफल भएकी थिइन्। तर, उक्त कर्जा रकम सम्बन्धित परियोजनामा लगानी नगरी दुरुपयोग गरेको पुष्टि भएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दा चलाइएको थियो।
उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७१–०१–२९ गतेको फैसलाले प्रतिवादी सविता कार्कीलाई निम्नलिखित सजाय सुनाएको थियो
अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी फरार रहँदै आएकी थिइन्। पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।







