काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलबाट प्रहरीले २०८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीवार राति प्रहरीले भरौलस्थित ३८ वर्षीय विष्णु धामीको घरमा लागू औषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले छापा मारेको थियो ।
घरमा गरिएको खानतलासीका क्रममा विष्णु धामीको साथबाट ब्राउन सुगर २०८ ग्राम तथा एक लाख ८२ हजार ५०० नगद बरामद भएको हो । घटनास्थलबाट विष्णु धामीसँगै सोही कोठामा रहेका ३३ वर्षीय रुद्रबहादुर सुबेदीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद लागू औषध, नगद तथा दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।






