काठमाडौँ । लुम्बिनी प्रदेशमा वन संरक्षण तथा हरित वातावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा सञ्चालन भएको अभियानअन्तर्गत प्रदेशभर ६० हेक्टरभन्दा बढी क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्य लिइएको छ।
अभियानको शुभारम्भ आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका–२ स्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन्। अभियानका लागि प्रदेशभर करिब २५ लाख बिरुवा उत्पादन गरिएको र ती सरकारी, सार्वजनिक तथा निजी जग्गामा रोपिने जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वृक्षारोपणसँगै बिरुवाको संरक्षणलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताए। प्रत्येक वर्ष ठूलो संख्यामा बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उनले वन संरक्षणलाई सबै नागरिकको साझा दायित्वका रूपमा लिनुपर्ने धारणा राखे।
वन क्षेत्रले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले जडीबुटी, काठ तथा दाउराको सदुपयोगबाट स्थानीय बासिन्दा आत्मनिर्भर बन्दै गएको बताए। वन क्षेत्रबाट प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व संकलन गरेको उल्लेख गर्दै उनले वनलाई आर्थिक विकासको आधारका रूपमा थप प्रभावकारी ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारुले प्रकृति संरक्षणलाई मानव अस्तित्वसँग जोडिएको विषय भएको उल्लेख गर्दै वन विनाशले दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी दिए। उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा निरन्तर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपण अभियानमा जैविक विविधताको संरक्षणलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्वका विभिन्न प्रजातिका बिरुवा रोप्ने योजना छ। उनले वृक्षरोपणपछि नियमित संरक्षण, स्याहार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याए।
लमही नगरपालिकाकी कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई स्थानीय आयआर्जन र उद्यमशीलतासँग जोडेर अघि बढाउनुपर्ने बताइन्। डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षारोपण सफल बनाउन चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित हेरचाहलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालका अनुसार महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रमा ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ। ती बिरुवाको संरक्षण र व्यवस्थापनको जिम्मेवारी सामुदायिक वन उपभोक्ता समूहले नै वहन गर्ने उनले जानकारी दिए।
कार्यक्रमका अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको सिर्जनामा आधारित वन संरक्षणसम्बन्धी गीतसमेत सार्वजनिक गरिएको थियो।






