काठमाडौँ । सुनसरीमा लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका क्रममा प्रहरीले एकै दिन पाँच जनालाई पक्राउ गरेको छ।
विभिन्न स्थानमा सञ्चालन गरिएको कारबाहीका क्रममा प्रतिबन्धित औषधिजन्य पदार्थ, लागू औषध तथा नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका-२० स्थित ओशो पार्क क्षेत्रबाट ११६ ट्याब्लेट ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा धरान-१३ का २४ वर्षीय सुजन थापा (डिल्लीराम) र मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २२ वर्षीय सुजित थापा रहेका छन्। उनीहरूलाई अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यस्तै, धरान-१८ स्थित घोपा क्याम्प अगाडिबाट ३४ वर्षीय दिलीप चौधरीलाई २०७ ट्याब्लेट स्पास्मो र १० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, इटहरी उपमहानगरपालिका-१ मा डेरा गरी बस्दै आएका ओखलढुंगाका ३२ वर्षीय मनोज काफ्ले र अर्का एक जनालाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। उनीहरूबाट १० ट्याब्लेट ट्रामाडोल तथा नगद २ लाख १० हजार ४३५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय, इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मनोज काफ्ले बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा लागू औषध बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







