काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले वित्तीय अनुशासन कायम गर्न र लेखापरीक्षण कार्यलाई थप गुणस्तरीय, पारदर्शी तथा जवाफदेही बनाउन विभिन्न सुधारका प्रयासहरू थालिएको बताएका छन् ।
महालेखा परीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखा परीक्षकको कार्यालयले आगामी दिनमा पनि सार्वजनिक क्षेत्रको लेखा परीक्षणलाई थप प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने सबै उपाय लागू गरिने बताए ।
लेखापरीक्षण कार्यमा पारदर्शिता ल्याउन स्थलगत लेखापरीक्षण अवधिका क्रममा भर्चुअल माध्यमबाट सरोकारवालासँग चार पटक अन्तरक्रिया गरिएको र आगामी वर्षमा पनि त्यसलाई निरन्तरता दिइने उनको भनाइ छ । आन्तरिक रूपमा कर्मचारीको व्यावसायिक सक्षमता वृद्धिका लागि निरन्तर शिक्षा, विषयगत तालिम सञ्चालन गरिएको जानकारी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्य गरिएको महालेखापरीक्षक रायाको भनाइ छ ।
नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीमार्फत संघीय तथा प्रदेश मन्त्रालय, र स्थानीय तहमा राय सहितको प्रतिवेदन सार्वजनिक गरिएको उनले उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले बेरुजु फर्स्यौटका लागि संसदीय समितिकातर्फबाट भरपुर सहयोग रहने विश्वास व्यक्त गरे । उनले समितिले कार्यतालिका नै बनाएर छलफल गर्ने र फर्स्यौटका लागि आवश्यक सहजीकरण गर्ने उल्लेख गरे ।
महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/८२ मा रु. ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण गरिएको थियो । विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक ब्यहोराका रु. ८८ अर्ब नौ करोड बराबरको बेरुजु औँल्याइएको छ । बाँकी अद्यावधिक बेरुजु रु. सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बराबर रहेको छ ।






