काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले जनताले पटक-पटक प्रदान गरेको राजनीतिक अवसरको प्रभावकारी उपयोग हुन नसक्दा नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै शर्माले कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाप्रति नेतृत्व तह नै जिम्मेवार रहेको धारणा व्यक्त गरे। उनका अनुसार नेतृत्वले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा आन्दोलनको शक्ति कमजोर हुनुका साथै लोकप्रियतावादी प्रवृत्ति विस्तार भएको हो।
शर्माले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा कम्युनिस्ट शक्तिले नेतृत्व गरेका विभिन्न आन्दोलन र संघर्षहरूको ऐतिहासिक योगदानका आधारमा जनताले बारम्बार विश्वास व्यक्त गरेको उल्लेख गरे। तर, प्राप्त जनादेशलाई व्यवहारमा रूपान्तरण गर्न नसक्दा जनअपेक्षा पूरा हुन नसकेको उनको भनाइ थियो।
उनले कम्युनिस्ट विचारधारासँग सम्बन्धित सिद्धान्त, नारा र अवधारणालाई नागरिकको दैनिक जीवनसँग जोड्न नेतृत्व असफल भएको टिप्पणी गर्दै विचार र व्यवहारबीचको दूरी बढ्दै जाँदा जनविश्वासमा ह्रास आएको बताए।
नेता शर्माले बदलिँदो समयअनुसार कम्युनिस्ट आन्दोलनलाई नयाँ पुस्ताको नेतृत्वमार्फत पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए। वर्गीय, जातीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माणका माध्यमबाट वैज्ञानिक समाजवादतर्फ अघि बढ्न सकिने उनको धारणा थियो।






