काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले ओदाली शहरी स्वास्थ्य क्लिनिकका प्रमुख हेमन्त भण्डारीको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार एक दिन सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाले जारी गरेको निर्णयअनुसार मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा मंगलबार शोक बिदा लागू गरिएको छ।
पाटन नगरपालिका–५ स्थित ओदाली शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत भण्डारीको सोमबार बिहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी पाटन नगरपालिका–६ का स्थायी बासिन्दा थिए।
भण्डारीको मुटुको शल्यक्रिया कैलालीको अत्तरियास्थित अस्पतालमा गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि भारतको रुद्रपुर लगिएको थियो। उपचारबाट स्वास्थ्यमा उल्लेख्य सुधार हुने सम्भावना नरहेको चिकित्सकीय निष्कर्षपछि उनलाई आइतबार घर ल्याइएको र त्यसको भोलिपल्ट बिहान उनको निधन भएको जनाइएको छ।
नगरपालिकाले स्वास्थ्य सेवामा भण्डारीले पुर्याएको योगदानको सम्मानस्वरूप शोक बिदा दिने निर्णय गरेको जनाएको छ।







