विराटनगर । जिल्ला अदालत सोलुखुम्बुबाट कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका-२ बस्ने ३६ वर्षीय ध्रुव बहादुर भुजेल रहेका छन्।
केन्द्रीय कारागारबाट भागेका थिए भुजेल अदालतको फैसलापछि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौँमा कैद भुक्तान गरिरहेका भुजेल मिति २०८२ साल भदौ २४ गते जेन जेड आन्दोलनको मौका छोपी कारागारबाट भागी फरार भएका थिए।
फरार रहेका भुजेल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ गोठ गाउँमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिएको थियो। सोही टोलीले उनलाई मंगलवार दिउँसो १२:५० बजे मोरङबाट पक्राउ गरेको हो।
पक्राउ परेका भुजेललाई आवश्यक कारबाहीका लागि मोरङ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।







