काठमाडौँ । बागमती प्रदेश सरकारले सिमान्तीकृत तथा आर्थिक रूपमा विपन्न परिवारका सात जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराएको छ।
प्राविधिक उच्च शिक्षामा लक्षित समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको शैक्षिक छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका विद्यार्थीलाई ललितपुरमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहभागी थिए। सो अवसरमा उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यका साथ प्रदेश सरकारले यस्तो कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अभिभावकलाई जीविकोपार्जनमा केन्द्रित हुन र छोराछोरीको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले वहन गर्ने विश्वास व्यक्त गरे।
प्रदेश सरकारको वर्तमान कार्यकालको प्रारम्भमै मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। सोही निर्देशिकाका आधारमा छात्रवृत्तिका लागि पहिलो चरणमा सात जना विद्यार्थी छनोट गरिएको मन्त्रालयले जनाएको छ।







