काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा आएका छन्।
इलाम जिल्लाको माई नगरपालिका-९ राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ जोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल वैकल्पिक बाटोको प्रयोग गरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशका मुख्य सडकहरूमा बढी असर देखिएको छ। काभ्रेको बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथको दुई स्थानमा अवरोध छ। मकवानपुरको भीमफेदी गाउँपालिका-८ भन्ज्याङडाँडामा पहिरोका कारण र ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुमा अविरल वर्षाका कारण यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उता लुम्बिनी प्रदेशको गुल्मी जिल्लास्थित कालीगण्डकी करिडोरकै पौदी खण्डमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ।








