काठमाडौँ । सरकारले आगामी असार २९ गतेदेखि राहदानी वितरण प्रक्रियालाई नयाँ प्रणालीमा आधारित बनाउने भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नागरिकलाई थप सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी वितरण प्रणाली परिमार्जन गरिएको जानकारी दिए।
उनका अनुसार राहदानीसम्बन्धी विद्यमान प्रणाली परिवर्तन गरी नयाँ व्यवस्था लागू गर्न आवश्यक तयारी मन्त्रालय र राहदानी विभागबाट अन्तिम चरणमा पुगेको छ।
नयाँ प्रणाली सञ्चालनका क्रममा प्रारम्भिक समय केही सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा प्रवाहमा दीर्घकालीन असर नपर्ने मन्त्रालयको अपेक्षा छ। प्रवक्ता क्षेत्रीले नयाँ व्यवस्थापछि राहदानी सेवा नियमित, व्यवस्थित र सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।







