काठमाडौँ । क्यानडामा रोजगारी लगाइदिने भन्दै ठूलो रकम उठाएर ठगी गरेको आरोपमा लहानु चौधरी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँ महानगरपालिका-१५ र चन्द्रागिरि क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
कैलाली स्थायी घर भएका चौधरीमाथि २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ बराबर रकम ठगी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार उनले क्यानडामा आकर्षक रोजगारीको व्यवस्था गरिदिने आश्वासन दिँदै पीडितहरूबाट फरक-फरक परिमाणमा रकम संकलन गरेका थिए।
प्रहरी विवरण अनुसार पीडितहरूसँग प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म रकम लिइएको थियो। रकम बुझाएपछि पनि वैदेशिक रोजगारीको प्रक्रिया अघि नबढेपछि पीडितहरूले रकम फिर्ताको माग गरेका थिए।
रकम फिर्ताका लागि दिइएका चेकसमेत भुक्तानी नभएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागको समन्वयमा प्रहरीले चौधरीको खोजी गर्दै आएको थियो।
लामो समयदेखि फरार रहेका चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वैदेशिक रोजगार विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा चौधरीले आफूले सञ्चालन गरेको म्यानपावर संस्था बन्द भएका कारण रकम फिर्ता गर्न नसकेको बताएका छन्। उनले आफूबाट ठगी गर्ने उद्देश्य नरहेको दाबी गरे पनि घटनासम्बन्धी सम्पूर्ण पक्षमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीको नाममा हुने आर्थिक ठगी नियन्त्रणका लागि सम्बन्धित निकायहरूले नागरिकलाई श्रम स्वीकृति प्राप्त संस्था र आधिकारिक प्रक्रियामार्फत मात्र विदेश जाने व्यवस्था अपनाउन आग्रह गरेका छन्।







