तनहुँ । तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रु दुई करोड बढीको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको छ ।
संघीय सरकारको रु दुई करोड चार लाख ७८ हजार ६७९ को लागतमा प्रहरी चौकीको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
यसअघि भाडामा सञ्चालन हुँदै आएको प्रहरी चौकीले अब सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जना प्रहरी कार्यरत छन् । तेह्र जनाको दरबन्दी रहे पनि दरबन्दीअनुसारको प्रहरी नरहेको प्रनाउ घिमिरेले बताए । उनले भने, “नवनिर्मित भवन आधुनिक तथा व्यवस्थित संरचनासहित निर्माण गरिएकाले सेवा प्रवाहमा सहजता आउनेछ ।”
किहुँ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न तथा स्थानीय नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउन प्रहरी चौकीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
उनका अनुसार सीमित जनशक्तिका बीच पनि किहुँ क्षेत्रको शान्ति, सुरक्षा कायम गर्न तथा स्थानीय नागरिकलाई प्रहरी सेवा उपलब्ध गराउने काम हुँदै आएको छ ।




