झापा । जिल्ला प्रहरी कार्यालय झापाले ठूलो परिमाणमा अवैध रूपमा लुकाई छिपाई राखिएको खरबुजाको बिउ बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिकाबाट उक्त बिउ बरामद गरेको हो।
प्रहरीका अनुसार आइतवार बेलुका ८ बजेको समयमा भद्रपुर नगरपालिका-३ ज्ञाने चोक बस्ने भिमलाल सुवेदीको घरमा अवैध रूपमा खरबुजाको बिउ लुकाई राखेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक बसुन्धरा खड्काको कमाण्डमा ५५ जनाको टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले सुवेदीको घरका २ वटा कोठामा कानुनी रीत पुर्याई खानतलासी गर्दा प्रति बोरा ४० केजीका दरले कुल ९४८ बोरा (जम्मा ३७,९२० केजी) खरबुजाको बिउ फेला पारी बरामद गरेको हो।
बरामद गरिएको उक्त खरबुजाको बिउलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीले जानकारी दिए ।







