काठमाडौँ । लगातारको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि नारायणगढ-मुग्लिङ सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै वर्षाको अवस्था र सडक सुरक्षालाई मध्यनजर गर्दै उक्त सडक खण्ड भएर चल्ने सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
प्रशासनले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई तत्काल यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै काठमाडौँ जाने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरिएको छ ।
भारी वर्षाको समयमा यात्रा गर्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुहरूलाई आवश्यक तयारीसहित मात्र यात्रा गर्न प्रशासनले सुझाव दिएको छ । यात्रामा निस्कँदा खानेपानी, सुख्खा खानेकुरा, प्राथमिक उपचारका औषधि, आवश्यक कपडा तथा सम्भव भएसम्म मोबाइल चार्जर साथमा राख्न आग्रह गरिएको छ ।
आपत्कालीन अवस्थामा सहयोग, समन्वय तथा सहजीकरणको लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले यात्रु तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्दै मौसम र सडकको अवस्था हेरेर मात्र आवतजावत गर्न आग्रह गरेको छ ।








