सोलुखुम्बु । सोलुखुम्बुमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विगत केही दिनदेखि हराइरहेकी एक महिलाको शव सडेको अवस्थामा फेला परेपछि उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा-१ नेले जोग्रा बस्ने ३५ वर्षीय विकास भन्ने योगेन्द्र कटुवाल रहेका छन्।
प्रहरीका अनुसार सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका–५ काँकु सरिमा टोल स्थायी घर भई विगत १० वर्षदेखि थुलुङ दुधकोशी गाउँपालिका वडा–१ नेले तुम्सेस्थित शर्मिला राईको घरमा कोठा भाडामा बस्दै आएकी ३७ वर्षीया कमला भन्ने लछीमाया वि.क. गत असार १६ गते बिहान हराएकी थिइन्। उनी आफ्नो १० वर्षीय नाबालक छोरालाई छिमेकीको बारीमा कोदो रोप्न जान्छु भनी हिँडेकी थिइन्।
सोही दिनदेखि उनी हराई बेपत्ता भएपछि घरबेटी शर्मिला राईले असार १९ गते उनको हुलियासहित जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएकी थिइन्।
खोजतलास गर्ने क्रममा प्रतिवादी योगेन्द्र कटुवाल आफैँले दिएको सूचनाको आधारमा असार २७ गते दिउँसो ४:३० बजेको समयमा थुलुङ दुधकोशी गाउँपालिका वडा–१ तुम्से कार्मेडाँडास्थित ठुलो ढुङ्गाको ओडारमा कमला भन्ने लछीमाया वि.क.को शव सडीगली मृत अवस्थामा फेला परेको हो।
शव फेला परे लगत्तै प्रहरीले विकास भन्ने योगेन्द्र कटुवाललाई कर्तव्य ज्यान कसूरमा पक्राउ गरेको छ। पक्राउ परेका कटुवाललाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक ६ (छ) दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।







