कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायतका समस्याका पालिकाका नागरिक प्रभावित हुने गरेको पुर्नवास नगरपालिकाले जनाएको छ ।
विपद् तथा बाढीका बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक थान रवर बोट र दश थान ‘लाइफ ज्याकेट’लगायतका उद्धार सामग्री नगरपालिकाले उपलब्ध गराएको सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनले उक्त सामग्री पुर्नबासमै रहेको सशस्त्र प्रहरी बलको बिओपीलाई हस्तान्तरण गरिएको बताए।
त्यसैगरी, सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले मङ्गलबार पुर्नबास नगरपालिकामा सीमावासीसित अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबीच सीमा क्षेत्रमा देखिएका समस्या, लागुऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले जनाएको छ ।
स्थानीयहरूले भारतबाट घरायसी प्रायोजनका लागि सर्वसाधारण नागरिकले ल्याउने सामान्य सामानमा धेरै दुःख दिन नहुने धारणा राखेका थिए । अखाद्य वस्तु तथा तस्करीजन्य सामग्री हो या होइन छुट्याएरमात्रै कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् । स्थानीय बजार नै बन्द हुने अवस्था सृजना भएको बताउँदै नेपालमा खोर र भारतबाट कुखुरा ल्याउनेजस्ता गतिविधिमा नियन्त्रण गर्न सशस्त्र प्रहरीले जोड दिनुपर्ने सुझाव दिएका छन् । यस्तै लागुऔषध नियन्त्रणमा जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले कञ्चनपुरमा हाल चार वटा सीमा सुरक्षा पोस्ट (बिओपी)मा नयाँ भवन निर्माण भइसकेको र आगामी वर्ष थप तीन वटा बिओपीमा नयाँ भवन निर्माण हुने प्रक्रिया अघि बढेको जानकारी दिए। उनले व्यक्तिगत प्रयोजनका लागि रु. ५०० भन्दा बढी मूल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रण गरिने स्पष्ट पारे ।
खराब नियतका सुरक्षाकर्मीमाथि तत्काल कारबाही हुने बताउँदै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्नमाथि कडा कारबाही गरिने बताए । गत वर्ष असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै पत्रकारलाई पुराना तस्बिर प्रयोग नगर्न र आवश्यक परे नयाँ तस्बिर माग्न आग्रह गरे। सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गरी काम भइरहेको उनले बताए । साथै, विपद् स्वयंसेवक परिचालन तथा ‘लुना एप’ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए ।
कार्यक्रमका पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गरे । तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामानमाथि भने कडाइ गर्नुपर्नेमा उनले जोड दिए । उनले लागुऔषध पुनर्वासका लागि गम्भीर चुनौती बनेको बताउँदै केही स्थानीय युवा यसको चपेटामा परेको बताए ।
किसानलाई मल ल्याउन सहज वातावरण बनाउन, जनप्रतिनिधिको सुझाव सुरक्षा निकायले सुन्न, वडाध्यक्षहरूसँग नियमित समन्वय गर्न पनि उनले सशस्त्र प्रहरीलाई आग्रह गरे । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको उनले बताए । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्का समयमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे ।







