काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराउने ‘वन आवर सर्भिस’ लागू गर्ने भएको छ।
कार्यालयले जारी गरेको सूचना अनुसार उक्त सेवा २०८३ साल श्रावण १ गतेदेखि कार्यान्वयनमा आउनेछ। सोही अवसरमा ‘वन आवर सर्भिस’को औपचारिक घोषणा कार्यक्रम पनि आयोजना गरिएको छ।
घोषणा कार्यक्रम श्रावण १ गते दिउँसो १:०० बजे जिल्ला प्रशासन कार्यालयको परिसरमा हुने जनाइएको छ। कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणलाई उपस्थितिका लागि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा जारी सूचनामा सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ ‘वन आवर सर्भिस’ सुरु गर्न लागिएको उल्लेख गरिएको छ।







