काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएकी छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले सरकारले सुशासनको नाममा मुलुकमा आतंक सिर्जना गरेको र प्रतिपक्षी नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी हुन्।
पन्तले पछिल्लो समय सिंहदरबारको गेटमा देखिएको कर्मचारीहरूको आन्दोलन र नेपाली काँग्रेसका सभापति गगन थापाको निवास तथा केही प्रतिष्ठित सञ्चारगृहको गेटमा देखिएका शंकास्पद गतिविधिबारे सरकारको जवाफ माग गरिन् ।
सभापति थापाको घर नजिकै शंकास्पद सवारी साधन छाडेर जाने व्यक्तिहरू सरकारी गाडी चढेर फरार भएको भन्ने सुनिएकाले त्यसको सत्यतथ्य सार्वजनिक गर्न उनले सरकारसँग रुलिङको माग गरिन् । उनले सरकारले आफू बाहेक सबैको अपमान गर्ने र ‘बालीमा जिरो, गालीमा हिरो’ बन्ने प्रवृत्ति देखाएको टिप्पणी गरिन्।
मुलुकमा मनसुन सक्रिय भई बाढी र पहिरोको जोखिम बढिरहेका बेला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यकारी प्रमुखको नियुक्ति नहुनुले सरकारको गैरजिम्मेवारीपन प्रस्ट भएको उनको भनाइ छ ।
संयुक्त राष्ट्र संघले नेपाललाई पूर्व सूचना प्रणाली (अर्ली वार्निङ फर अल) अन्तर्गत छनौट गरे पनि सरकारले यस सम्बन्धी रणनीतिक योजना अनुमोदन गर्न ढिलाइ गरेकोमा समेत उहाँले प्रश्न उठाइन् ।
कृषि र अर्थतन्त्रका विषयमा बोल्दै पन्तले किसानले अझै रासायनिक मल नपाएको र उत्पादनले उचित मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको बताइन् । बजारमा महंगी अचाक्ली बढेको तर सरकारले बजार अनुगमनमा कुनै चासो नदेखाएको उनको आरोप छ । दुग्ध उत्पादक किसानले भुक्तानी नपाएको विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराइन् ।
सरकारले राष्ट्रिय सदाचार नीति २०८३ लागू गर्ने निर्णय गरेकोमा स्वागत गर्दै पन्तले आईएलओ महासन्धि ८७ लाई भने बेवास्ता गरिएको उल्लेख गरिन् । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूमाथि लगाइने सेवा शुल्क घटाउनुको साटो बढाउन खोजिएको भन्दै उहाँले यस्ता निर्णय तत्काल सच्याउन माग गरिन् ।
पन्तले सरकारलाई तानाशाही प्रवृत्ति त्यागेर लोकतान्त्रिक मूल्य-मान्यता र जनचाहनाअनुसार काम गर्न आग्रह गर्दै संसदमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले आफैँ उपस्थित भएर जवाफ दिनुपर्ने माग गरिन् ।







