काठमाडौँ । जेन जेड अभियन्ता माजिद अन्सारीले आफूमाथि नेपाल प्रहरीले गरेको दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
अन्सारीले सामाजिक सञ्जालमार्फत कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडित सुकुम्बासीहरूको मानवीय व्यवस्थापनमा सहयोग गर्न जाँदा आफू र जेन जेड आन्दोलनका अन्य साथीहरूलाई प्रहरीले चारैतर्फबाट घेरा हाली लछारपछार गर्दै कुटपिट गरेको दाबी गरेका छन्। घटनामा आफूलाई प्रहरीले चरम यातना दिई गम्भीर घाइते बनाएको र त्यसपछि गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उनको भनाइ छ।
क्यामेराले नदेख्ने ठाउँमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले बताए ।
उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरेका छन् । ‘मेरो मेडिकल हिस्ट्रीमा प्रहरी कुटपिट भन्ने शब्द समेत लेख्न नदिन कोसिस गरियो,’ उनले भनेका छन्, ‘क्याबिनभित्रै सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।’
अन्सारीले आफूलाई करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्रतापूर्वक उपचार पाउने हकबाट समेत वञ्चित गर्न खोजिएको बताएका छन् ।







