काठमाडौँ । जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बस पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन् ।
लु १ ख ८९९० नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिँदा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय माइक्रो बसका सहचालक सन्दीप बरालको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा भिम अस्पताल भैरहवामा उनको मृत्यु भएको छ ।
दुर्घटनामा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही ठेगाना बस्ने ३४ वर्षीया श्रद्धा जोशी, जिल्ला कपिलवस्तु शिवराज नगरपालिका-२ बस्ने १९ वर्षीय प्रकाश गाहा, जिल्ला पाल्पा रिब्दीकोट गाउँपालिका-६ बस्ने ३८ वर्षीय सुनिल थापा, जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ दरखसवा बस्ने २६ वर्षीय कुलदीप गुप्ता, जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका-७ वडवलिया बस्ने ५५ वर्षीया शाहाबुन निसा र जिल्ला नवलपरासी सुनवल नगरपालिका-६ बस्ने ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि फरार भएका चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।







