काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिका थप प्रभावकारी, अध्ययनमा आधारित र तथ्यपरक बनाउन विज्ञहरूको संस्थागत सहयोग लिने तयारी अघि बढाएको छ। पार्टीले विभिन्न क्षेत्रका विज्ञलाई समेटेर विषयगत समूह निर्माण गर्ने तथा उनीहरूको ज्ञानलाई संसदीय कामकारबाहीसँग जोड्ने योजना बनाएको हो।
एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संसदीय गतिविधिलाई व्यवस्थित बनाउन तयार पारिएको कार्ययोजनाबारे जानकारी दिएकी हुन्।
उनले संसद्मा हुने प्रस्तुति केवल राजनीतिक अभिव्यक्तिमा सीमित नभई अध्ययन, अनुसन्धान, तथ्य र विज्ञ सुझावमा आधारित हुनुपर्ने आवश्यकता औँल्याइन्। राजनीतिक अनुभव भएको नेतृत्व र विभिन्न विषयमा दक्षता हासिल गरेका विज्ञबीचको सहकार्यले पार्टीको नीति निर्माण र संसदीय हस्तक्षेपलाई अझ प्रभावकारी बनाउने उनको भनाइ थियो।
एमालेले विज्ञहरूको क्षमता, रुचि र विशेषज्ञताको क्षेत्र पहिचान गर्न विवरण संकलन प्रक्रिया सुरु गरेको छ। प्राप्त विवरणका आधारमा विज्ञहरूको सूची (रोस्टर) तयार गरी उनीहरूलाई सम्बन्धित विषयअनुसार छुट्टाछुट्टै समूह (क्लस्टर) मा आबद्ध गर्ने तयारी गरिएको छ।
संसदीय बहसलाई थप तथ्यमा आधारित बनाउन पार्टीले ‘मुद्दा संकलन केन्द्र’ स्थापना गर्ने योजना पनि अघि सारेको छ। उक्त केन्द्रमार्फत जनसरोकारका विषय, सामाजिक समस्या तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गरी आवश्यक तथ्य र सूचनाहरू संकलन गरिने बताइएको छ। यसबाट सांसदहरूले सदनमा उठाउने विषयलाई थप प्रमाणसहित प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उपनेता अर्यालले जनताका समस्या र आवाजलाई सरकारसमक्ष प्रभावकारी रूपमा पुर्याउनु तथा सरकारका गतिविधिमाथि आवश्यक निगरानी र खबरदारी गर्नु प्रतिपक्षको महत्वपूर्ण जिम्मेवारी भएको बताइन्।
उनका अनुसार राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोण निर्माण गर्न तथा पार्टीको धारणा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्थापित गर्न विज्ञहरूको सुझाव र विशेषज्ञता उपयोगी हुने भएकाले एमालेले यस दिशामा संरचनागत पहल थालेको हो।







