काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १३ हजार ५५१ सवारीसाधनलाई कारबाही गर्दै एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार समीक्षा अवधिमा विभिन्न प्रकृतिका सवारीसाधनमाथि गरिएको कारबाहीबाट उक्त रकम राजस्वका रूपमा संकलन भएको हो।
कारबाहीमा पर्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढी रहेको छ। विवरणअनुसार ४ हजार ६१४ मोटरसाइकल चालक कारबाहीमा परेका छन्। त्यसपछि कार तथा जिपका ३ हजार ३२६, ट्रक र टिपरका २ हजार २५५, बसका १ हजार ५४०, ट्र्याक्टरका ९१२ तथा अन्य श्रेणीका ९४२ सवारीसाधन कारबाहीमा परेका छन्।
मासिक तथ्यांक अनुसार जेठ महिनामा सबैभन्दा बढी ट्राफिक कारबाही गरिएको कार्यालयले जनाएको छ। उक्त महिनामा मात्र १ हजार ५०२ सवारीसाधनमाथि कारबाही हुँदा १२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
पछिल्ला तीन आर्थिक वर्षको विवरणले कारबाही र राजस्व संकलनमा उतारचढाव देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा १९ हजार २८९ सवारीसाधन कारबाहीमा पर्दा एक करोड ४१ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व उठेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ हजार ६१० सवारीसाधनमाथि कारबाही गरी एक करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो।
गत आर्थिक वर्षको तुलनामा २०८२/८३ मा कारबाहीमा परेका सवारीसाधनको संख्या र त्यसबाट प्राप्त राजस्व दुवैमा कमी आएको कार्यालयको तथ्यांकले देखाएको छ। त्यसका आधारमा पछिल्लो आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट संकलित राजस्व अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ।







