काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच संस्थागत सहकार्य, अनुसन्धान क्षमता विकास तथा विद्यार्थी सहभागिता बढाउने विषयमा छलफल भएको छ।
काठमाडौँमा भएको भेटवार्तामा दुवै संस्थाका प्रतिनिधिहरूले क्षमता अभिवृद्धि, विज्ञहरूको सूची निर्माण, विद्यार्थीलाई अनुसन्धान प्रक्रियामा जोड्ने तथा प्रतिष्ठानका अध्ययनका लागि क्षेत्रीयस्तरमा आउटपोस्ट स्थापना गर्ने सम्भावनालगायतका विषयमा विचार आदानप्रदान गरेका छन्।
छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईसहित वरिष्ठ अनुसन्धानकर्ताहरू डा. दीपककुमार खड्का, डा. मोहनकुमार शर्मा, डा. खगनाथ अधिकारी, डा. हरि शर्मा न्यौपाने र डा। कल्पना खनाल सहभागी थिए।
त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा.यदुप्रसाद ज्ञवाली र फ्याकल्टी सदस्य एवं पीएचडी शोधार्थी लोकबहादुर ओली सहभागी रहेको जनाइएको छ।
प्रतिष्ठान र विश्वविद्यालयबीच यसअघि नै आपसी सहयोग र सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। गत माघ २६ गते भएको उक्त समझदारीअनुसार नीति अनुसन्धान, ज्ञान आदानप्रदान तथा शैक्षिक सहकार्यका क्षेत्रमा दुवै संस्थाले सहकार्य अघि बढाउँदै आएका छन्।







