काठमाडौँ । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार जगरनाथपुर गाउँपालिका-४ स्थित हुलाकी सडकमा सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट लागूऔषध बरामद गरिएको हो।
प्रहरीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको कारलाई शंकाका आधारमा रोकी जाँच गर्दा पछाडिको सिटमुनि प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ।
घटनामा भारतको बिहार राज्य, सितामढी जिल्लास्थित तालका ग्राम पञ्चायतका ३३ वर्षीय रहमद अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र पक्राउ परेका अन्सारीविरुद्ध लागू औषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







