दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिर्पिङ खोलामा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिनर्जी हाइड्रोपावर (सिर्पिङ खोला जलविद्युत् आयोजना)को ड्याम नजिकै पहिरो गएको थियो ।
पहिरोले स्थानीय बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोका कारण जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा रहेका कर्मचारी बस्ने आवासीय घरसमेत पूर्ण रूपमा क्षति भएको छ।
घटना लगत्तै बेपत्ताको खोजी तथा उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलको सिंगटीस्थित पोस्टबाट विपद् व्यवस्थापन तालिमप्राप्त विशेष जनशक्ति परिचालन गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।







