काठमाडौँ । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका-५ क्षेत्रबाट तीन हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरिएको हो ।
प्रहरीका अनुसार हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीन वटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा फेला परेको हो । घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू फरार रहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजामध्ये बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा राखिएको ५२३ किलो ६४० ग्राम गाँजा फेला परेको थियो । यस्तै, प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको एक हजार ६६८ किलो ११० ग्राम तथा बा.प्र.०१-०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा राखिएको एक हजार १७० किलो ७१० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन र बरामद लागु औषधबारे कानुनी प्रक्रिया अघि बढाएको छ । फरार रहेका चालकहरूको खोजी भइरहेको तथा घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।







