काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले वर्तमान परिस्थितिको मूल्याङ्कन गर्दै महत्वपूर्ण निर्णय लिनुपर्ने समय आएको बताएका छन् ।
बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको आवश्यकता केवल नेताको अभिव्यक्तिमा सीमित नरहेको भन्दै पार्टीले दूरगामी प्रभाव पार्ने निर्णय गर्नुपर्ने धारणा राखे ।
आङ्देम्बेले विगतमा कुनै एक व्यक्तिको भाषणलाई आधार बनाएर लामो समय उत्साहित हुने अवस्था रहे पनि अहिले पार्टीले त्यसभन्दा माथि उठेर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए । उनले काँग्रेससँग समयले नयाँ संकल्प र ऐतिहासिक निर्णयको अपेक्षा गरेको उल्लेख गरे ।
जीवन्त राजनीतिक दलभित्र छलफल, बहस र विचारको आदानप्रदान स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो । तर, विवादलाई असन्तुष्टि र आक्रोशतर्फ लैजाँदा त्यसले पार्टीको संगठनात्मक जीवनलाई कमजोर बनाउने उनले चेतावनी दिए ।
उनले विवादलाई सकारात्मक निष्कर्षतर्फ लैजानुपर्ने आवश्यकता औँल्याउँदै कमजोर र निष्क्रिय पार्टीले प्रभावकारी निर्णय दिन नसक्ने बताए ।
इतिहासले काँग्रेसका नेता तथा कार्यकर्तालाई सचेत गराइरहेको उल्लेख गर्दै आङ्देम्बेले बदलिँदो अवस्थालाई बुझेर पार्टीले नयाँ रणनीति र संकल्पसहित अघि बढ्नुपर्ने धारणा राखे । उनले पार्टीका संरचना तथा संगठनलाई थप प्रभावकारी बनाउँदै नयाँ परिस्थितिअनुसार कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए ।







