काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई तमासा देखाउन छाडेर जनताका समस्याप्रति संवेदनशील र जिम्मेवार हुन आग्रह गरेका छन् ।
प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा बढ्दै गएको आत्महत्याको प्रवृत्ति र नागरिकले भोगिरहेका पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।
उनले सरकारले सञ्चार गृह र राजनीतिक दलका नेताहरूको घर अगाडि गाडी तेर्स्याएर शक्ति प्रदर्शन गर्ने जस्ता अपरिपक्व कार्य गर्न नहुने टिप्पणी गरे । सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै नेता नेपालले नयाँ सरकारलाई काम गर्न र सिक्नका लागि १०० दिनको समय दिइएको तर बिहानीले दिनको संकेत गर्छ भनेझैँ सरकारको सुरुवाती लक्षणहरू उत्साहजनक नदेखिएको स्पष्ट पारे ।
आफूहरू अहिले सरकार ढाल्ने खेलमा नरहेको प्रस्ट पार्दै उहाँले प्रतिपक्षका रूपमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। यद्यपि, उनले राष्ट्रिय हित विपरीतका कार्य नगर्न सरकारलाई सचेत गराए।
सहसंयोजक नेपालले भने, ‘आज जनताका पीडा हामीले हरेक दिन सुनिरहेका छौँ । आत्महत्यासम्म पुग्ने निराशाजनक घटनाहरूले हामी सबैलाई गहिरो पीडा दिइरहेका छन् । यस्तो अवस्थामा सरकार संवेदनशील बन्नुपर्छ । तमासा देखाउने काम नगरी जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्छ । सरकार नयाँ भएकाले शुवआती १०० दिनको समय दिइएको हो । तर सिक्ने र सुधार गर्ने संकेत सुरुदेखि नै देखिनुपर्छ । सुरुवाती कामले नै भविष्यको दिशा देखाउँछ । त्यसैले सरकारले आफ्नो कार्यशैलीबाट सही सन्देश दिनुपर्छ । राम्रो काम गर्दा देश र जनताको नै हित हुन्छ। त्यसैले अनुभवबाट सिक्दै सही दिशामा अघि बढ्नुपर्छ । अहिले हाम्रो उद्देश्य सरकार ढाल्ने होइन । न त त्यसतर्फ लागेका छौँ, न अहिले त्यस्तो अवस्था नै छ । हाम्रो भूमिका सकारात्मक र रचनात्मक हुनेछ । तर सरकारसँग हाम्रो आग्रह छ-देशको हितलाई पहिलो प्राथमिकतामा राख्नुस् । विदेशी स्वार्थको पक्षमा नलाग्नुस्, छिमेकी राष्ट्रसँग अनावश्यक तनाव सिर्जना गर्ने काम नगर्नुस्, र गरिब, सुकुम्वासी, विपन्न, महिला, दलित तथा अन्य कमजोर समुदायलाई कुनै पनि प्रकारको पीडा हुने अवस्था आउन नदिनुस् ।’
सुकुम्वासी, आर्थिक रूपमा विपन्न परिवार, महिला तथा दलित समुदायले भोग्नुपरिरहेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै नेता नेपालले राज्यका तर्फबाट कसैले पनि पीडा सहनु नपर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।







