काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । बैंकिङ समूहको सकारात्मक प्रदर्शनले बजारलाई टेवा दिँदा नेप्से ७.९० अंकले बढेर २७३४ अंकमा पुगेको हो ।
यसअघि अघिल्लो कारोबार दिन पनि नेप्से १४.१७ अंकले उकालो लागेको थियो । पछिल्लो वृद्धिसँगै शुक्रबारको नेप्से परिसूचक गत जेठ २७ यताकै उच्च विन्दुमा पुगेको छ ।
कारोबार अवधिमा नेप्से दिउँसो ११ बजेर ४६ मिनेटमा २७४७ अंकसम्म पुगेको थियो । तर त्यसपछि बजारको गति केही कमजोर हुँदै अन्तिम समयसम्म वृद्धि सीमित भएको हो ।
शुक्रबार कुल १४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
बजारमा कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
विशेष गरी बैंकिङ समूहको मजबुत प्रदर्शनले समग्र बजार वृद्धिमा उल्लेख्य योगदान पुर्याएको देखिएको छ ।






