काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डिजिटल स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न आवश्यक नीतिगत र संस्थागत पहल अघि बढाइने बताएकी छन्।
शुक्रबार मन्त्री मेहतासँग बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखकलगायतको प्रतिनिधिमण्डलले भेट गरी ‘द लास्ट माइल: डिजिटल स्वास्थ्य सम्मेलन-२०८३’ बाट प्राप्त निष्कर्ष तथा सिफारिसहरू प्रस्तुत गरेको थियो।
भेटका क्रममा प्रतिनिधिमण्डलले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाको कार्यान्वयनबाट प्राप्त अनुभव, टेलिमेडिसिन सेवाको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकृत विकास तथा राष्ट्रिय डिजिटल स्वास्थ्य संरचना निर्माणका लागि आवश्यक नीतिगत सुधारबारे धारणा राखेको थियो।
उनीहरूले डिजिटल स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन कानुनी तथा नीतिगत परिमार्जन, दिगो वित्तीय व्यवस्थापन र संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वयात्मक कार्यप्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए।
मन्त्री मेहताले सम्मेलनबाट प्राप्त सुझावहरूको विस्तृत अध्ययन गरी आवश्यक नीतिगत निर्णय तथा संस्थागत सुधारका प्रक्रिया अघि बढाइने जानकारी दिइन्। उनले डिजिटल प्रविधिमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सुरक्षित, अन्तरसञ्चालनीय, समतामूलक र दिगो डिजिटल स्वास्थ्य प्रणाली निर्माणतर्फ सरकार प्रतिबद्ध रहेको बताइन्।






