काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ रावा बेसी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै, मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागू औषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






