काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाली टोलीका तीव्र गतिका बलर नन्दन यादव चोटका कारण बाँकी खेलबाट बाहिरिएका छन्।
खेलका क्रममा ह्यामस्ट्रिङमा समस्या देखिएपछि यादवले सिरिजका आगामी खेलहरूमा सहभागिता जनाउन नसक्ने भएका हुन्। प्रमुख बलरको अनुपस्थितिले प्रतियोगिताको महत्वपूर्ण चरणमा रहेको नेपाली टोलीमाथि थप दबाब परेको छ।
नेदरल्यान्ड्सको उत्रेथमा भइरहेको सिरिजमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेको छैन। नेपालले खेलेका सुरुवाती दुई खेलमा आयोजक नेदरल्यान्ड्स र नामिबियासँग पराजय बेहोरेको छ।
तालिकाअनुसार नेपालले सिरिजअन्तर्गत तेस्रो खेल सोमबार नामिबियासँग खेल्नेछ भने त्यसपछि अन्तिम खेलमा दुई दिनपछि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग-२ को शीर्ष चार स्थानमा रहँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा रहेको नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण बनेका छन्। छनोट सम्भावना कायम राख्न नेपालले आगामी खेलहरूमा जित निकाल्नुपर्ने अवस्था छ।
नेपालले लिग-२ को आठौँ चरणसम्म ३० खेलबाट २४ अंक जोडेको छ र अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ। समान अंक भए पनि रनरेटका आधारमा नामिबिया छैटौँ र क्यानडा सातौँ स्थानमा छन्।
हाल अंक तालिकामा अमेरिका ४३ अंकसहित पहिलो स्थानमा छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ३४ अंकका साथ तेस्रो तथा ओमान ३१ अंकसहित चौथो स्थानमा रहेका छन्। युएई भने १४ अंकसहित तालिकाको अन्तिम स्थानमा छ।
नेदरल्यान्ड्स सिरिजपछि नेपालले लिग-२ को अन्तिम चक्रअन्तर्गत अक्टोबरमा घरेलु मैदानमा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।






