काठमाडौँ । मोरङ प्रहरीले एक किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत साउन २ गते बिहान करिब १० बजे सुनवर्षी नगरपालिका-१ की एक किशोरीलाई सिटी चालक मोहम्मद असमानले रंगेली नगरपालिका-७ स्थित ‘युमी क्याफे’मा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका-१ निवासी २१ वर्षीय सुमनकुमार साहले पनि जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ।
प्रहरीका अनुसार साउन ४ गते राति करिब ११ बजे पुनः पीडितलाई रङ्गेली नगरपालिका-७ स्थित संसारी मन्दिर छेउमा रहेको ‘द ९०एस’ क्याफेमा लगिएको थियो। त्यहाँ रंगेली नगरपालिका-७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियन्सु साह र १८ वर्षीय रितिक यादवले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोप प्रहरीले लगाएको छ।
घटनाको आधारमा साउन ११ गते जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँचै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ का १८ वर्षीय मोहम्मद असमान, सुनवर्षी नगरपालिका-१ का २१ वर्षीय सुमनकुमार साह, रंगेली नगरपालिका-७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियन्सु साह तथा १८ वर्षीय रितिक यादव रहेका छन्।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।







