काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप समयसँगै जटिल बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी जनचेतना, सुशासन तथा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विस्तारसँगै मानव बेचबिखनका नयाँ तरिका विकसित भएकाले यसविरुद्धको अभियानलाई पनि समयानुकूल बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार कला र सञ्चारका विभिन्न माध्यमले मानव बेचबिखनविरुद्ध जनमानसमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्। यसै उद्देश्यका साथ आफूहरू विगतदेखि नै विभिन्न टेलिचलचित्र तथा गीतमार्फत सचेतनामूलक अभियानमा निरन्तर सक्रिय रहेको उनले बताए।
आचार्यले मोबाइल फोन र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै तस्करहरूले प्रविधिको दुरुपयोग गर्दै विभिन्न प्रलोभन देखाएर सर्वसाधारणलाई लक्षित गर्ने प्रवृत्ति बढेको उल्लेख गरे। यस्तो अवस्थाले मानव बेचबिखन नियन्त्रणको चुनौती थप गम्भीर बनेको उनको भनाइ थियो।
उनले राजनीतिक अस्थिरता, रोजगारीको अभाव र वैदेशिक अवसरप्रतिको आकर्षणका कारण विशेष गरी युवाहरू जोखिममा पर्ने अवस्था सिर्जना भएको बताए। यही परिस्थितिको फाइदा उठाउँदै मानव तस्करीमा संलग्न समूहहरूले आकर्षक आश्वासन दिएर सर्वसाधारणलाई जालमा पार्ने गरेको उनको धारणा थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता घटनाको सन्दर्भ उल्लेख गर्दै आचार्यले मानव बेचबिखन वा त्यससँग सम्बन्धित गैरकानुनी गतिविधिमा राजनीतिक तहसम्मको संलग्नता देखिनु गम्भीर चिन्ताको विषय भएको बताए। यस्ता प्रवृत्तिको अन्त्यका लागि राजनीतिक नेतृत्वमा नैतिकता, जबाफदेहिता र नयाँ कार्यसंस्कृतिको विकास आवश्यक रहेको उनको भनाइ थियो।
सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले आगामी दिनमा पनि अडियो-भिजुअल सामग्रीमार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रमलाई निरन्तर अघि बढाइने जानकारी दिए।
साथै, सामाजिक अभियानमा संलग्न कलाकारहरूमाथि केही व्यक्तिले आधारहीन प्रचार गर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै आचार्यले साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने सुझाव दिए।






