काठमाडौँ । भारतस्थित धौलिगंगा जलविद्युत् आयोजनाको बाँधको स्लुइस गेट सफाइका लागि केही समय खोलिने भएपछि महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त जानकारीका आधारमा बैतडी प्रशासनले सार्वजनिक सूचना जारी गर्दै साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म धौलिगंगा पावर स्टेसनको स्लुइस गेट सञ्चालन गरी सफाइ गरिने जनाएको छ।
प्रशासनका अनुसार उक्त अवधिमा तथा त्यसपछिका केही समयसम्म पनि महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
साथै नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्ने, ढुंगा-बालुवा संकलन गर्ने तथा अन्य जोखिमयुक्त गतिविधिमा संलग्न नहुन प्रशासनले सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा समन्वयका साथ सतर्कता अपनाउन अनुरोध गरेको छ।







