काठमाडौँ । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तिका लागि शाहीले नेकपा एमालेका ९ जना र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ जना गरी २३ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका थिए ।
एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । सोही प्रक्रियाअनुसार प्रदेश प्रमुखसमक्ष बहुमत समर्थन जुटाएका शाहीलाई सरकारको नेतृत्वको जिम्मेवारी दिइएको हो ।
शाही कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री बनेका छन् । यसअघि उनले कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।







