धार्मिक, सांस्कृतिक, सामाजिक वा व्यक्तिगत कुनै पनि कार्यक्रममा डीजे बजाए आयोजक र सञ्चालकमाथि कानुनी कारबाही गर्ने चेतावनी
सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयले जिल्लाभर डीजे बाजाको प्रयोगमा लगाइएको प्रतिबन्ध पुनः कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ। प्रतिबन्ध उल्लङ्घन गरी कुनै पनि कार्यक्रममा डीजे बजाएको पाइएमा डीजे, साउण्ड सिस्टम तथा सम्बन्धित सवारीसाधन नियन्त्रणमा लिई आयोजक र सञ्चालकमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार ध्वनि प्रदूषण नियन्त्रण, शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न र सम्भावित साम्प्रदायिक सद्भावमा असर पर्न नदिन प्रशासनले विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल गरेको जनाएको छ।
प्रशासनका अनुसार असार ३ गते राजनीतिक दलका प्रतिनिधि, असार ११ गते धार्मिक संस्थाका प्रतिनिधि, असार १२ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–अध्यक्ष र असार १५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा डीजे व्यवसायीसँग छुट्टाछुट्टै छलफल गरिएको थियो। ती छलफलबाट धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डीजे नबजाउने र त्यसको सट्टा वैकल्पिक बाजा प्रयोग गर्ने सर्वपक्षीय सहमति भएको प्रशासनले जनाएको छ।
यद्यपि पटक–पटक सूचना जारी गरिसक्दा पनि जिल्लाका केही स्थानमा उक्त निर्णयको उल्लङ्घन गर्दै डीजे बजाइएको गुनासो प्राप्त भएपछि प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रशासनले सर्वपक्षीय निर्णयको मर्मअनुसार धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत कुनै पनि कार्यक्रममा डीजे प्रयोग नगर्न सबै पक्षलाई पुनः आग्रह गरेको छ। निर्णयको अवज्ञा गरी डीजे बजाएको पाइएमा सुरक्षाकर्मीले तत्काल उपकरण तथा सवारीसाधन नियन्त्रणमा लिई आयोजक र सञ्चालकलाई कानुनी दायरामा ल्याइने विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले सांस्कृतिक एकता, सामाजिक सद्भाव, आपसी भाइचारा तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सबै जिल्लावासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै डीजे बजाइएको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा तत्काल सूचना दिन पनि आग्रह गरेको छ।






