काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले पदबाट हटेपछि पूर्वमुख्यमन्त्रीका हैसियतमा प्राप्त हुने सरकारी सेवा, सुविधा तथा सुरक्षा सुविधा नलिने घोषणा गरेका छन् ।
कँडेलले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै राज्यबाट उपलब्ध हुने कुनै पनि अतिरिक्त सुविधा ग्रहण नगर्ने जानकारी दिएका हुन् ।
उनले आफ्नो २७ महिने कार्यकाल पूरा भएपछि जिम्मेवारी परिवर्तन हुनु लोकतान्त्रिक शासन प्रणालीको सामान्य प्रक्रिया भएको उल्लेख गरेका छन् । सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता कुनै पद वा जिम्मेवारीमा मात्र सीमित नरहेको उनको भनाइ छ ।
पूर्वमुख्यमन्त्री कँडेलले आफ्नो कार्यकालमा सहयोग र समर्थन गर्ने कर्णालीवासी, राजनीतिक नेतृत्व, प्रदेशसभा सदस्य, विभिन्न दल, सरकारी कर्मचारी, सुरक्षा निकाय, सञ्चार क्षेत्र, नागरिक समाज तथा विकास साझेदारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
त्यसैगरी, सरकारका कामकारबाहीप्रति रचनात्मक सुझाव, आलोचना र निगरानी गर्ने प्रतिपक्षी दलहरूप्रति पनि उनले सम्मान प्रकट गरेका छन् ।
आफ्नो नेतृत्वमा सुशासन प्रवर्द्धन, पारदर्शिता कायम गर्ने प्रयास, वित्तीय अनुशासन र विकासका आधार निर्माणमा काम गरिएको उल्लेख गर्दै कँडेलले प्रदेश सरकारको सीमित अधिकार तथा गठबन्धन राजनीतिक अवस्थाबीच भएका उपलब्धिको मूल्यांकन नागरिक तहबाट हुने विश्वास व्यक्त गरेका छन् ।
उनले नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीलाई सफल कार्यकालको शुभकामना दिँदै आफूलाई सहयोग गर्ने र जनताप्रति उत्तरदायी भएर काम गर्न प्रेरित गर्ने सबैप्रति पुनः आभार व्यक्त गरेका छन् ।






