काठमाडौँ । इराकको अर्धसैनिक बल ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पिएमएफ)ले बुधवार बगदादमा आफ्ना सदस्यहरूको सम्मानमा अन्त्येष्टि जुलुस निकालेको छ ।
अमेरिकी र साउदी अरबको संयुक्त हवाई आक्रमणमा मारिएका आफ्ना सदस्यहरूको सम्झनामा पिएमएफले उक्त शोक सभा तथा अन्त्येष्टि आयोजना गरेको हो ।
बुधवारै इराकका विभिन्न प्रान्तहरूमा रहेका पिएमएफका सैन्य ठेगानाहरूलाई लक्षित गरी अमेरिका र साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तीमा २० जना सदस्यको मृत्यु भएको छ भने ३२ जना अन्य घाइते भएका छन् ।
अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य कारबाहीको पुष्टि गरेको छ । अमेरिकी सेना र साउदी ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी भएका पछिल्ला ड्रोन आक्रमणहरूको जवाफमा मंगलबार इरान समर्थित लडाकुहरू विरुद्ध ‘प्रिसिजन’ (सटिक) हवाई आक्रमण गरिएको कमाण्डले जनाएको छ ।
पिएमएफ इराकको राज्य–प्रायोजित छाता संगठन हो, जसमा दर्जनौँ अर्धसैनिक समूहहरू आबद्ध छन् । चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस)विरुद्धको सैन्य अभियानपछि यस संगठनलाई औपचारिक रूपमा इराकी सशस्त्र बलमा समाहित गरिएको थियो ।
यसैबीच, इराकको राष्ट्रिय सुरक्षाका लागि मन्त्री स्तरीय परिषद्ले बुधवार एक विज्ञप्ति जारी गर्दै अर्धसैनिक बलका ठेगानाहरूमा गरिएको हवाई आक्रमणको कडा निन्दा गरेको छ । परिषद्ले देशको सार्वभौमिकताको रक्षा गर्न र सुरक्षा व्यवस्थामा राज्यको नियन्त्रण सुदृढ बनाउन एक विस्तृत सुरक्षा योजना समेत पारित गरेको छ ।






