काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरी, सिरहालगायतका जिल्लामा भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशबासीका नाममा बिहीबार सम्बोधन गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेका छन्।
प्रधानमन्त्री शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिएका छन्।
छानबिन निष्पक्ष हुने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री शाहले घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी थप अप्रिय घटना हुन नदिन र शान्ति–सुरक्षा कायम गर्न प्रयास भइरहेको बताएका छन्।
उनले गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै अनुसन्धान पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास व्यक्त गरे।
“घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्रीले सम्बोधनमा भने।
सर्वदलीय बैठकदेखि राष्ट्रिय सुरक्षा परिषद्सम्म सक्रियता
प्रधानमन्त्रीका अनुसार अवस्था थप जटिल हुन नदिन केन्द्रस्तरमा सर्वदलीय बैठक बोलाइएको छ भने स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको छ।
उनले गृहमन्त्री स्वयं उच्च सुरक्षा अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेको तथा देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयसमेत गरिसकिएको जानकारी दिए।
अफवाह नफैलाउन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह
प्रधानमन्त्री शाहले संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह तथा समुदायबीच वैमनस्य बढाउने सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरेका छन्।
उनले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र तथ्यमा मात्रै विश्वास गर्न सबै नागरिकलाई विशेष अनुरोध गरेका छन्।
सिङ्गो समुदायलाई दोष नदिन आग्रह
प्रधानमन्त्री शाहले कुनै एक स्थानमा भएको दुःखद घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई आरोपित गर्नु वा अन्य क्षेत्रमा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिले न्यायोचित नहुने बताएका छन्।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अभ्यास गर्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै त्यसको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए।
धर्मले समाजलाई जोड्ने, प्रेम र करुणाको सन्देश दिने भएकाले कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई स्वीकार नगर्ने प्रधानमन्त्रीको भनाइ छ।
एकता, संयमता र राष्ट्रिय सद्भाव कायम गर्न आह्वान
प्रधानमन्त्री शाहले नेपालको इतिहासले कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै सबैभन्दा ठूलो शक्ति भएको प्रमाणित गरेको उल्लेख गर्दै अहिले पनि त्यही भावनाका साथ अघि बढ्नुपर्ने बताएका छन्।
उनले आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल, सामाजिक अगुवा तथा सञ्चारमाध्यमलाई धैर्यता, संयमता र जिम्मेवारीका साथ शान्ति, सद्भाव, भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न सरकारका तर्फबाट हार्दिक अपिल गरेका छन्।






