काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट पारेको छ। घटनालाई लिएर विभिन्न माध्यममा आएका विवरणप्रति ध्यानाकर्षण जनाउँदै प्रहरीले मृतकको पहिचान र घटनाको प्रकृतिबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १५ गते राति करिब ९ बजे सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार मृतक मन्दिरका पुजारी नभई घुमीहिँड्ने तथा बाहिर कामकाज गरी मन्दिर परिसरमा आएर सुत्ने व्यक्ति थिए।
घटनापछि तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना विशुद्ध आपराधिक प्रकृतिका व्यक्तिहरूबाट भएको देखिएको प्रहरीको भनाइ छ। त्यसैले घटनालाई कुनै पनि धार्मिक विवादसँग नजोडी शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न प्रहरीले सबै नागरिकसँग अपिल गरेको छ।
प्रहरीले घटनामा संलग्न जो–सुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।







