काठमाडौँ । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पुनः निषेधाज्ञा जारी गरेको छ।
प्रशासनको निर्णय अनुसार शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञाको दायरा पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्म निर्धारण गरिएको प्रशासनले जनाएको छ।
यसअघि पनि बिहीबार रातिको समयलाई लक्षित गर्दै प्रशासनले यस्तै प्रकृतिको निषेधाज्ञा लागू गरेको थियो। सुनसरीमा भएको घटनापछि वीरगञ्जमा समेत प्रदर्शन बढ्न थालेसँगै सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले लगातार रातिको समयमा निषेधाज्ञा जारी गर्दै आएको छ।







