काठमाडौँ । नेपाल प्रहरीले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ ।
प्रहरी संगठनको आवश्यकता र कार्यसम्पादन व्यवस्थापनलाई ध्यानमा राख्दै विभिन्न निकायमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
काज सरुवाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपी मदनजीत महरालाई प्रहरी वृत्त बौद्धको जिम्मेवारी दिइएको छ । यसअघि बौद्ध वृत्त प्रमुख रहेका डीएसपी सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा तानिएको छ ।
त्यस्तै, डीएसपी सूर्यबहादुर बोगटीलाई वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा खटाइएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी ज्ञानबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुर पठाइएको छ ।
यसैगरी प्रहरी निरीक्षकतर्फ पनि विभिन्न स्थानमा जिम्मेवारी परिवर्तन गरिएको छ । प्रहरी निरीक्षक सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार, कास्की, यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ, ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा खटाइएको छ ।
त्यस्तै, प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही र दीपक खकुरेललाई इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाको जिम्मेवारी दिइएको छ ।
प्रहरीले नियमित व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार अधिकृतहरूको सरुवा तथा पदस्थापन गर्दै आएको छ । पछिल्लो काज सरुवा पनि सोही प्रक्रियाअन्तर्गत गरिएको हो ।






