अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि ‘बोर्ड अफ पिस’ बीच सम्झौता भएको दाबी गरेका छन्। बिहीवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले यस सम्झौतालाई गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन गर्ने दिशामा एक निर्णायक कदमका रूपमा व्याख्या गरेका छन् ।
उक्त नयाँ सरकारले प्यालेस्टिनी जनताको हितका लागि ’बोर्ड अफ पिस’ सँग निकट रहेर कार्य गर्ने उनले बताए । ‘यस सम्झौतापछि इजरायलले स्थायी सुरक्षाको अनुभूति गर्नेछ र गाजा अब उप्रान्त आतङ्ककारी आक्रमणको आधार क्षेत्रका रूपमा रहने छैन’ ट्रम्पले उल्लेख गरेका छन् ।
ट्रम्पकाअनुसार यो सम्झौता विभिन्न चरणहरूमा कार्यान्वयन गरिनेछ । निशस्त्रीकरणको प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने र गाजाको सुरक्षाको जिम्मेवारी नयाँ प्यालेस्टिनी प्रहरी बलसँगको समन्वयमा ‘अन्तर्राष्ट्रिय स्थिरता बल’(इन्टरनेसनल स्टेबिलाइजेसन फोर्स)ले लिने उल्लेख गरिएको छ ।
यस सम्झौतालाई सफल बनाउन मिस्र (इजिप्ट), कतार र टर्कीले मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गरेको राष्ट्रपति ट्रम्पले जानकारी दिए। यद्यपि, हमासको तर्फबाट भने यस सम्झौताको बारेमा हालसम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया आएको छैन ।






