काठमाडौँ । प्रा. कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस) को अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणी गरेका हुन् ।
मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाए। मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनी अहिले समस्यालाई शिथिल मात्र बनाएको तर सम्बोधन नगरिएको बताए। समस्याको शिथिलीकरण समाधान नभएको उनको दाबी छ ।
राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा। खनालले कुनैपनि पार्टीले आफू किन हार्यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तरघात वा अन्य बाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हाबी रहेको जिकिर गरे । उनले अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझे पनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताए।
विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै उनले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताए । खनालले हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारी समेत दिए।
प्रा. खनालले भने, ‘कुनैपनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण आत्मसमीक्षा गर्न चाहँदैन । हारको जिम्मेवारी आफूले लिनुको सट्टा अन्तरघात वा अरूलाई दोष दिने प्रवृत्ति देखिन्छ । तर हारेको पार्टी नै हो भन्ने यथार्थ स्वीकार गरेर सुधारको बाटो खोज्नु आवश्यक छ । हाम्रो समाजमा तथ्य र अनुसन्धानमा आधारित राजनीतिक बहसको संस्कार कमजोर छ । विश्वविद्यालयहरूमा पनि अनुसन्धानलाई पर्याप्त प्राथमिकता नदिँदा शिक्षण र अनुसन्धानबीचको सम्बन्ध बलियो बन्न सकेको छैन । अहिले नेपाल बहुसंकटको अवस्थामा छ ।
समस्या एकपछि अर्को गर्दै आइरहेका छन् तर तिनको दीर्घकालीन समाधानभन्दा तत्काल शिथिलीकरणमा मात्र ध्यान दिइएको छ । समस्या र संकट फरक कुरा हुन् । समस्या समाधान गर्न सकिन्छ तर जब विद्यमान संस्था, प्रक्रिया र उपायहरूले समाधान दिन सक्दैनन्, त्यही अवस्था संकट हो ।’
प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तब मात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थर मात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिन सक्ने चेतावनी दिए।






