काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच देखिएको तनावका कारण जिल्लाका केही क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि कर्फ्यु तथा निषेधाज्ञा लागू गरिएको थियो। पछिल्लो समय जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको उनले जानकारी दिए।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले हाल जिल्लाको शान्ति-सुरक्षा अवस्था सामान्य रहेको उल्लेख गर्दै नागरिकलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह फैलाउने तथा सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैसँग अनुरोध गरेको छ।







