काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीका सबै तहका कमिटीलाई आवश्यक परे आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्।
प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’ अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसँग सोमबार भर्चुअल माध्यमबाट भएको बैठकलाई सम्बोधन गर्दै पोखरेलले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले शासन सञ्चालनको पर्याप्त अनुभव नभएका व्यक्तिहरू सरकारको नेतृत्वमा पुगेकाले देश जटिल परिस्थितितर्फ धकेलिएको दाबी गरे। साथै, पछिल्लो समय विभिन्न स्वार्थ समूहहरूको प्रभाव र सक्रियता बढ्दै गएको आरोप पनि लगाए।
महासचिव पोखरेलले सरकारले सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट काम गरिरहेको टिप्पणी गर्दै कानुनी प्रक्रिया र विधिको पालना नगरी स्वेच्छाचारी ढंगबाट शासन सञ्चालन गर्ने प्रवृत्ति देखिएको आरोप लगाए।
उनले राजनीतिक परिस्थितिका आधारमा जुनसुकै बेला सरकारविरुद्ध सडक आन्दोलनको आवश्यकता पर्न सक्ने उल्लेख गर्दै त्यसका लागि संगठनलाई तयारी अवस्थामा राख्न मातहतका सबै कमिटीलाई निर्देशन दिएका छन्।






