काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन व्यवसायीहरू तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सरकारी नीतिगत स्पष्टता र आवश्यक कार्यविधि निर्माण हुनुपर्नेमा जोड दिए।
उनले व्यवसायीहरू जीपीएसलगायत आधुनिक प्रविधि प्रयोगका लागि सकारात्मक रहे पनि कार्यान्वयनका लागि आवश्यक मापदण्ड र प्रक्रिया तय हुन नसक्दा अपेक्षित प्रगति हुन नसकेको बताए। हाल उपलब्ध प्रविधि तुलनात्मक रूपमा महँगो रहेकाले यसको व्यावहारिक प्रयोगका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष सिटौलाले यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। व्यवसायीका माग र समस्याबारे प्रधानमन्त्रीसँग भेटका लागि समय माग गरिएको तथा सम्बन्धित मन्त्रालयसँग पनि समन्वय भइरहेको उनले बताए।
उनले सार्वजनिक रूपमा प्रचार गर्नेभन्दा पनि परिणाममुखी कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै आगामी एक महिनाभित्र यातायात क्षेत्रमा केही सकारात्मक सुधारका संकेत देखिने दाबी गरे।
महासंघअन्तर्गत रहेका प्रदेश, जिल्ला तथा विभिन्न यातायात संस्था र कम्पनीहरू व्यवसायीको हकहित संरक्षण तथा क्षेत्र सुधारका लागि सक्रिय रूपमा अघि बढिरहेको उनको भनाइ थियो। सकारात्मक सोच र सहकार्यका आधारमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको अध्यक्ष सिटौलाले बताए।






